“समुदाय प्रतिको चासो” भन्ने सिद्धान्त अनुरुप बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. मार्फत छनौट भएका सामुदायिक विद्यालयमा अध्ययनरत ३ जना विपन्न/सिमान्तकृत र जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्तिमा निरन्तरता
झापाली समाज अमेरिका, झापा विकास मञ्च काठमाडौं, झापा जिल्ला सहकारी संघ लि. र सम्बन्धित सहकारी संस्थाहरुको सहकार्यमा मिति २०८१ जेष्ठ १५ गते सिटी सेन्टर विर्तामोडमा आयोजित ‘भविश्यको कर्णधार छात्रवृत्ति कार्यक्रम २०८१’ मा झापा भरिका सामुदायिक विद्यालयहरुबाट सिफारिस भई प्रारम्भिक सहकारी संस्थाहरुबाट छनौट भएका ७९ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् । हरेक शैक्षिक सत्रमा रु २१,०००/– का दरले दरले वितरण गरिने छात्रवृत्तिमा सिफारिस भएका विद्याथीहरुले वार्षिक परिक्षामा सफलतापूर्वक उत्तिर्ण भए कक्षा १२ सम्म निरन्तर सुविधा पाउने छन् । यस कार्यक्रममा अघिल्लो शैक्षिक सत्रको बाँकी रकम र यस शैक्षिक सत्रको पहिलो किस्ता गरी जनही रु १५,०००/– नगद पाएका छन् ।
कार्यक्रमको अध्यक्षता झापा जिल्ला सहकारी संघ लि.का अध्यक्ष श्री गणेश ढकालज्यू, प्रमुख अतिथि शिक्षा विकास समन्वय इकाई झापाका इकाई प्रमुख श्री राजकुमार विक ज्यू, विशिष्ट अतिथि अन्तराष्ट्रिय झापाली समाज, अध्यक्ष तथा संस्थापक अध्यक्ष झापाली समाज यु।एस।ए श्री मुकुन्द ढुङ्गाना ज्यू, विशिष्ट अतिथि अध्यक्ष झापा विकास मञ्च, काठमाण्डौका श्री डा। आनन्द श्रेष्ठ लगायत विभिन्न निकाय तथा संघ संस्थाहरुबाट उपस्थित अतिथिगण, सम्बन्धित विद्यालयका प्रतिनिधिहरु, अभिभावक, प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट संस्थाका सचिव श्री चन्द्र अधिकारीको रोहवरमा शर्त अनुसार अघिल्लो शैक्षिक सत्रमा सिफारिस भएका ३ जना विद्यार्थीले छात्रवृत्ति रकम पाएका छन् । जसमा श्री बुद्धआदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति १, बुधबारेमा कक्षा ४ मा अध्ययनरत लक्ष्मी कट्टेल, श्री शान्ति आदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति ६, शान्तिनगर कक्षा ६ मा अध्ययनरत सोनु साउदेन र श्री शिशु सुधार आधारभूत विद्यालय, बुद्धशान्ति ३, बुधबारे कक्षा ५ मा अध्ययनरत अभिशेक रसाइलीले छात्रवृत्ति पाएका हुन् । “समुदाय प्रतिको चासो” भन्ने सिद्धान्त अनुरुप बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले अन्य सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाउँदै आएको छ ।
